Harsamaya
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन
नेपाली सेना ।

काठमाडौं - रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत खोला तटीय क्षेत्रमा आएको बाढीबाट क्षति पुगेपछि नेपाली सेनाले उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको छ।

नेपाली सेनाका अनुसार आज बिहान करिब ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएपछि खोज तथा उद्धारका लागि सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगेका छन्।

त्यस्तै, त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन आपत्कालीन स्वास्थ्य उद्धार टोली (ईएमआरटी) एमआई–१७ हेलिकप्टरसहित परिचालन भएको छ।

धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ भने गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्ति पनि परिचालन गरिएको सेनाले जनाएको छ।

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ। नेपाली सेनाले त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितको उद्धारमा सहकार्य गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update