काठमाडौं - बाढी, पहिरो तथा अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। भदौ ९ गते साँझ ४ बजेसम्मको विवरणअनुसार केही सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग प्रभावित भएको छ।
बागमती प्रदेशमा हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक, कान्तिलोकपथ, अरनिको राजमार्ग, बीपी राजमार्ग, त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी तथा टोखा–छहरे सडकखण्डमा बाढी, पहिरो र जोखिमका कारण यातायात प्रभावित छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङ, रसुवाको उत्तरगया–५ खाल्टे र नुवाकोटको शिवपुरी–८ घट्टेखोला क्षेत्रमा पनि बाढी तथा पहिरोको जोखिम रहेको छ।
गण्डकी प्रदेशको बागलुङस्थित जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध रहेको छ।
सम्बन्धित निकायले जोखिमयुक्त सडकखण्डमा आवश्यक सतर्कता अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन्।

