जनकपुरधाम - आर्थिक मन्दीलगायतका कारण मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९३८ उद्योग–व्यवसाय बन्द भएका छन्।
मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ फर्म तथा उद्योगको लगत कट्टा भएको हो।
सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् भने ७ हजार ५४० उद्योग नवीकरण भएका छन्। नयाँ उद्योगमध्ये पर्सामा सबैभन्दा बढी १ हजार १०१ र सप्तरीमा सबैभन्दा कम ३१४ दर्ता भएका छन्।
मन्त्रालयका अनुसार वाणिज्यतर्फ ६ हजार १४० नयाँ फर्म दर्ता भएका छन् भने ११ हजार १४४ नवीकरण भएका छन्। दर्ता तथा नवीकरणबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा कमी, पुँजी अभाव र स्थानीय तहबाट समेत उद्योग दर्ता हुने क्रम बढ्नुले उद्योगको लगत कट्टा हुने क्रम बढेको हो।

