Harsamaya
 बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

स्याङ्जा -  स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा घाइते भएका चालकसहित १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।

हालसम्म जिपमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। मृतक तथा घाइतेको परिचयसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update