उदयपुर - उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आज बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को.१ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल पठाएको थियो।
उपचारका क्रममा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार हाल नाम, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, अटो चालक बेलका नगरपालिका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगरको पनि उपचारकै क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको छ।
दुर्घटनामा बेलका–५ मैनीका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। त्यस्तै, मोरङ विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ मध्यम अवस्थामा घाइते भएका छन्। दुवै जनाको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ। बस र चालक बेलका नगरपालिका–५ घुम्नेका करिब ३६ वर्षीय विक्रम थापालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

