Harsamaya
मिनी ट्रकले बसलाई ठक्कर दिँदा १२ जना घाइते
बस दुर्घटना ।

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिका–९ खल्ला कतर्नियास्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकले यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिँदा १२ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी १०२००२ ख १३५३ नम्बरको मिनी ट्रकले यात्रु झार्नका लागि रोकिरहेको भे १ ख १७८६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको हो। मिनी ट्रक गुलरिया नगरपालिका–८ का करिब ३० वर्षीय सुरेश थारुले चलाएका थिए भने बस बारबर्दिया नगरपालिका–२ का करिब २८ वर्षीय दिनेश थारुले चलाएका थिए।

ठक्करपछि बस सडकबाट करिब ५/६ मिटर दक्षिणतर्फ पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके पठाइएको छ।

घाइतेमध्ये बारबर्दिया नगरपालिका–१ की ४२ वर्षीया पवित्रा थापाको अवस्था गम्भीर रहेको छ। विवेक थारु, रुपनी थारु, उनका ७ वर्षीय छोरा कमल थारु र नन्दकली दमाईको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै भविसरा थापा बुढा, उनका एक महिनाका छोरा निराजन बुढा, २ वर्षीया छोरी हनसिखा बुढा, उमिता थारु, पार्वती चौधरी, चित्रबहादुर थारु र विपत्ति थारुको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि दुवै सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गमा भने यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update