Harsamaya
सप्तरीमा दुई वर्षीया नाबालिकाको हत्या, एक जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

जनकपुर - सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि उनको शव घरपछाडिको झाडीमा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काका अनुसार नाबालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजी थालेको थियो। खोजीका क्रममा उनलाई घरपछाडिको झाडीमा मृत अवस्थामा फेला पारिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको हुन सक्ने देखिएको एसपी खड्काले बताएका छन्।

घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको विवरण तथा घटनाको थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update