पोखरा - कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
लामागाउँमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रुपा बि.क. गम्भीर घाइते भएकी थिइन्। टाउकोमा चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बि.क. पनि घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस र चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

