Harsamaya
कुन कुन राजमार्ग छन् अवरुद्ध ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५, बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम नगरपालिका–९, राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कड्केभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरमा हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारी र मेलम्ची क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ मा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ भने गोसाइँकुण्ड गाउँपालिका–२, स्याफ्रुबेंसीमा पहिरोका कारण पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–५ मा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।

गण्डकी प्रदेशमा बागलुङको जैमिनी नगरपालिका–८, बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। मुस्ताङको थासाङ गाउँपालिका–४, कैकुखोलामा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। मनाङको नासों गाउँपालिका–३, खोत्रोमा पहिरोका कारण चामे–बेंसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबिसकोट नगरपालिका–६, रिजिगाउँ खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडकखण्डहरू खुलाउन सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट आवश्यक पहल भइरहेको जनाइएको छ। वर्षा जारी रहेकाले जोखिमयुक्त सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update