Harsamaya
गरिमा चौधरीको हत्यामा प्रचण्डको आक्रोश : ‘दोषीलाई कुनै पनि दबाबमा उन्मुक्ति नदिइयोस्’
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं - नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गम्भीर आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा शनिबार लेख्दै प्रचण्डले घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको भन्दै यस्ता जघन्य अपराध सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।

गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको उनले बताएका छन्।

उनले गरिमामाथिको अपराध एउटा परिवारको पीडामा मात्र सीमित नभई राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न भएको उल्लेख गरेका छन्।

छोरीहरूलाई भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको प्रचण्डको भनाइ छ।

घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन र कडा कानुनी कारबाही गर्न उनले सरकारसँग जोडदार माग गरेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update