Harsamaya
बेनी–जोमसोम सडक अवरुद्ध
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - म्याग्दीमा लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार बिहान करिब ५ः२५ बजे अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

त्यसैगरी, बिहान करिब ५ः३० बजे रघुगंगा गाउँपालिका–२, बैसेरीमा पनि सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दुवै स्थानमा पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले आवश्यक प्रयास गरिरहेको जनाइएको छ।

लगातारको वर्षाका कारण पहिरो खस्ने जोखिम कायमै रहेकाले बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update