Harsamaya
बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, सिन्धुपाल्चोक र रसुवाका सडक पूर्ण अवरुद्ध
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र गेग्रान खस्दा प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डमा यातायात एकतर्फी सञ्चालनमा रहेको तथा केही सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।

बागमती प्रदेशमा बढी असर
बागमती प्रदेशमा सिन्धुपाल्चोक र रसुवाका सडकमा वर्षाजन्य विपद्को बढी असर देखिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२, लिपिङ क्षेत्रमा पनि पहिरोका कारण सडक बन्द रहेको छ।

रसुवामा उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याङबोटमा पहिरोका कारण पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

काभ्रेको खुर्कोट–नेपालथोक–कठजोर हुँदै जाने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। मौसम तथा सडकको अवस्था हेरेर बिहानदेखि साँझसम्मको समयमा सवारी सञ्चालन गरिने जनाइएको छ।

मकवानपुरको हेटौँडा–डिगन–बागमती–ललितपुर सडकखण्डमा समेत बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ धन्चेल्ला क्षेत्रमा टोक्हा–छहरे सडकखण्डमा पहिरोका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको छ।

कोशीमा दुई प्रमुख सडक प्रभावित
कोशी प्रदेशमा भोजपुरको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा झापादेखि ताप्लेजुङ जाने सडकमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकीमा पनि सडक अवरोध
गण्डकी प्रदेशको बागलुङमा जैमिनी नगरपालिका–६ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरोका कारण बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुस्ताङको थासाङ गाउँपालिका–८ कैकुखोलामा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भइरहेको छ।

कर्णालीमा पनि सडक बन्द
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रेजिगाड खोलामा बाढी आएपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम बढिरहेकाले सडक प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रुले सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update