Harsamaya
राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई निष्कासन गर्ने
अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको निर्णयविपरीत प्रदेश सरकार गठनमा समर्थन दिएको भन्दै थापालाई कारबाही गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

थापाले पार्टीको निर्णय तथा पटक–पटक दिइएको निर्देशनविपरीत एमालेका मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार किरण थापा मगरलाई समर्थन पत्र बुझाएपछि कारबाही गरिएको लिङ्देनले बताए । 

राप्रपाले यसअघि नै सत्ता निर्माण वा विघटनको खेलमा सहभागी नहुने निर्णय गर्दै प्रदेशसभा सदस्यहरूलाई तटस्थ बस्न निर्देशन दिएको थियो। साउन २१ गते र भदौ १ गतेसमेत लिखित तथा मौखिक रूपमा सरकारको समर्थन वा विरोधमा नलाग्न निर्देशन दिइएको अध्यक्ष लिङ्देनले बताए । 

लिङ्देनका अनुसार पार्टीको निर्देशन उल्लंघन गर्दै सरकार गठन प्रक्रियामा सक्रिय भएको भन्दै थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्य दुवै पदबाट पदमुक्त गर्न सिफारिस गरिएको हो।

एमालेले राप्रपासँग औपचारिक छलफल नगरी प्रदेशसभा सदस्यहरूलाई प्रभावित पारेर सरकार गठनमा ‘चलखेल’ गरेको आरोपसमेत लिङ्देनले लगाए । उनले अब गठन हुने सरकारमा सहभागी हुने अन्य राप्रपा सांसदलाई समेत पार्टीको निर्णयअनुसार कारबाही गरिने चेतावनी दिए । 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update