नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्व), ४ भदौ। गैँडाकोट नगरपालिका–१४ भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङलाई सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।
भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि उनका नाति शिवान घरमा नभएको पाइएको थियो।
स्थानीय बासिन्दा तथा आफन्तले वन क्षेत्रमा खोजी गर्दा पनि बालक नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि स्थानीयवासीसँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरी खोजी तीव्र पारिएको थियो।
खोजीका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा सकुशल फेला पारिएको हो।
उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

