काठमाडौं - बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारी र सोही गाउँपालिकाको लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको हो।
त्यस्तै रसुवाको त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ। उक्त सडक लामो समयसम्म सञ्चालनमा आउन नसक्ने जनाइएको छ।
बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ क्षेत्र सम्भावित बाढीका कारण प्रभावित छ। मकवानपुरको कान्तिलोकपथ तथा हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलामको मेची राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र लमजुङको बेँसीसहर–मनाङ सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित छ। मुस्ताङको बेनी–जोमसोम सडकखण्डमा पनि पहिरो तथा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशको जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

