काठमाडौं - बागमती प्रदेश सरकार निर्माण गर्न राप्रपाको समर्थन नरहेको सो पार्टीले जनाएको छ।
एमाले प्रदेश सांसद किरण थापाले राप्रपाका प्रदेश सांसदसहितको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि राप्रप्रा केन्द्रीय कमिटीले समर्थन नरहेको जनाएको हो।
‘सरकार निर्माणमा राप्रपाको सहमति भन्ने विषयमा कुनै सत्यता छैन,’ राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत साउन २० गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकार निर्माणको कुनै गणितीय चलखेलमा सहभागी नहुने र कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने अधिकार अध्यक्षलाई प्रदान गरिएको र भदौ १ गते पार्टीको बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको क्रममा तटस्थ बस्न दिइएको निर्देशन विपरीत प्रदेश सरकार निर्माणमा संसदीय दलको नेताले समर्थन दिएको भन्दै हस्ताक्षर सार्वजनिक हुनु गम्भीर अनुशासन उल्लंघन हो।’
सो घटना लगतै पार्टीको अनुशासन समितिले यसबारे आवश्यक प्रक्रिया प्रारम्भ गरिसकेको उनले जानकारी दिए।
बागमती प्रदेशमा सरकार निर्माणका लागि राप्रपाको सांसदहरुको समर्थन भनि प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा राप्रपाको समर्थन नरहेको र सो पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध एवं पत्राचार समेत गरिएको उनको दाबी छ।
यस सम्बन्धमा कुनै भ्रममा नपर्न राप्रपा स्वदेश, विदेशका पार्टी सदस्य, शुभेच्छुक, शुभचिन्तक एवं आम जनसमुदायलाई हार्दिक अपीलसमेत गरेको छ।

