Harsamaya
बासुदेव खोलाले बगाएका दुई बालिकाको मृत्यु, एक अझै बेपत्ता
सांकेतिक तस्वीर: हर समय/Har Samaya

हेटौँडा - मकवानपुरको हेटौँडा–१९, बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेला परेको छ।

मंगलबार विद्यालयबाट घर फर्कने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो। उनीहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो भने दुई जनाको मृत्यु भएको छ। एक बालिका अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार आज बिहानैदेखि खोजी गर्ने क्रममा कक्षा ५ मा अध्ययनरत बिनिता भ्लोनको शव खोलामा फेला परेको हो। कक्षा ५ मै अध्ययनरत सुमित्रा भ्लोन अझै बेपत्ता रहेकाले उनको खोजी जारी छ।

यसअघि मंगलबार राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तान मृतावस्थामा फेला परेकी थिइन्। खोलाले बगाएकी कक्षा ६ की सीमा भ्लोनलाई घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

बेपत्ता सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update