काठमाडौं - बाढी, पहिरो तथा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
कोशी प्रदेशमा भोजपुरको भोजपुर नगरपालिका–४ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। इलाम नगरपालिका–८ राजदुवाली, झापा–ताप्लेजुङ सडकखण्डमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशमा काभ्रेको खुकोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा–भीमफेदी–बागमती–ललितपुरतर्फको कान्तिलोकपथमा समेत सम्भावित बाढी तथा पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा बागलुङको कालिगण्डकी करिडोर तथा बागलुङ–बेनी सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छन्। लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। मुस्ताङको बेनी–जोमसोम तथा जोमसोम–कोरला सडकखण्डमा समेत एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजिगाड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। मुगुको छायानाथ रारा नगरपालिका–४ स्थित ताल्चा खोलामा पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पनि पूर्णरूपमा बन्द भएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सहज बनाउने प्रयास भइरहेको छ। वर्षा र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

