विराटनगर - नेपाली कांग्रेस बाहिरिएपछि कोशी प्रदेश सरकार पुनर्गठन गरिएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच साउन ९ गते भएको तीनबुँदे सहमतिपछि मन्त्रिपरिषद् विस्तार गरिएको हो।
पुनर्गठित सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट चार मन्त्री र एक राज्यमन्त्री सहभागी भएका छन्। खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री नियुक्त गरिएको छ।
त्यस्तै सपना दर्जी परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए। राज्यमन्त्री परियारलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराए।
शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताए। उनले कोशी प्रदेशमा नेतृत्व परिवर्तनको अध्यायसमेत बन्द भइसकेको दाबी गरे।
यता कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले चाँडै संसदीय दलको बैठक बसेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए। उनले कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताए।
नयाँ मन्त्रिपरिषद् गठनसँगै कोशी प्रदेश सरकार ११ सदस्यीय बनेको छ।
नयाँ मन्त्रिपरिषद्मा विभिन्न मन्त्री तथा राज्यमन्त्रीलाई जिम्मेवारी तोकिएको छ।
हिक्मतकुमार कार्की — मुख्यमन्त्री
इन्द्रमणि पराजुली — स्वास्थ्य
विदुरकुमार लिङ्थेप — आर्थिक मामिला तथा योजना
रामप्रसाद महतो — उद्योग, कृषि तथा सहकारी
तिलचन पाठक — खानेपानी, सिँचाइ तथा ऊर्जा
खिनु लिम्बू — पर्यटन, वन तथा वातावरण
जीवन आचार्य — भौतिक पूर्वाधार विकास
गम्बु शेर्पा — आन्तरिक मामिला तथा कानुन
गीता तिम्सिना — सामाजिक विकास
सपना परियार — राज्यमन्त्री, भौतिक पूर्वाधार विकास
उमाकान्त गौतम — राज्यमन्त्री, स्वास्थ्य
नयाँ मन्त्रिपरिषद्ले प्रदेश सरकारका कामलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

