काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लगानीको वातावरण बनाउने, स्वदेशमै रोजगारी सिर्जना गर्ने तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने नीतिगत रणनीति कार्यान्वयन गरिरहेको बताए।
सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै उनले बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीमैत्री वातावरण निर्माण गर्न पहल गरिएको बताए।
वाग्लेले सम्मानजनक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमार्फत आर्थिक ‘राजकाज’को दिशा परिवर्तन गरिएको र पहिलो वर्ष सुधारको सुरुवात मात्र भएको बताए।
प्रवासमा रहेको नेपाली पुँजी र लगानी परिचालन गर्ने विषय पार्टीको घोषणापत्रमै उल्लेख रहेको भन्दै उनले सरकारले त्यसका लागि विशेष पहल गरिरहेको बताए।
सरकारले रुग्ण उद्योगलाई पुनर्जीवन दिने प्रक्रिया अघि बढाएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले ती उद्योग सञ्चालनका लागि सीप र ज्ञान भएका प्रवासी नेपालीले समेत सहभागिता जनाउन सक्ने बताए।

