काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सार्वजनिक संस्था तथा सरकारी निकायमा हस्तक्षेप भइरहेको आरोप लगाएका छन्।
उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै सेना, प्रहरी तथा कर्मचारीको मनोबल गिराउने काम भइरहेको भन्दै सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्। सांसदहरूका अभिव्यक्तिले संसदकै गरिमामाथि प्रश्न उठ्ने अवस्था आएको उनको टिप्पणी छ।
व्यवसायीहरूको धरपकडले निजी क्षेत्र त्रसित बनेको उल्लेख गर्दै सिंहले सरकारको परराष्ट्र नीतिमाथि समेत प्रश्न उठाएका छन्। ‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन (ट्रस्ट डेफिसिट),’ उनले भनेका छन्।
उनले वर्तमान गतिविधिले देशलाई समृद्धि र सुशासनतर्फ लैजाने हो कि राज्यलाई अझ पछाडि धकेल्ने हो भन्ने प्रश्न गर्दै सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
‘के समृद्धि र सुशासनको रोडम्याप यही हो? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ? सोच्ने बेला भएको छैन?’ सिंहले प्रश्न गरेका छन् ।

