Harsamaya
‘राजाले त केही गर्न सकेनन्, अरूले के गर्लान् ?’ 
कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौं - पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी छानबिन र राजनीतिक घेराबन्दीबाट आफू नडराउने स्पष्ट सन्देश दिएका छन्।

चुनदेवीस्थित निवासमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफ्नो पाँच दशक लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे। आफूविरुद्ध पटक–पटक छानबिन भए पनि केही प्रमाणित हुन नसकेको उनको भनाइ थियो।

आफूविरुद्धको दबाबप्रति कटाक्ष गर्दै देउवाले भने, ‘आफू अनुकूल नहुँदा राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन्, अरूले सक्लान् यहाँ?’

उनले अदालतमा हुने जुनसुकै छानबिनको सामना गर्न आफू तयार रहेको बताउँदै कानुनी प्रक्रियाबाट नभाग्ने स्पष्ट पारे।

देउवाले गणतन्त्र कुनै व्यक्तिको इच्छाले नभई जनताले चुनेको संविधानसभाबाट स्थापित भएको भन्दै त्यसलाई उल्ट्याउन कसैले नसक्ने दाबी गरे। ‘नेपालका जनता नै यो देशका असली मालिक हुन्, मालिकले जे भन्छ त्यही हुन्छ,’ उनले भने।

पाँच महिनापछि स्वदेश फर्किएका देउवाको यो अभिव्यक्तिले उनी तत्काल सक्रिय राजनीतिक भूमिकामा फर्किने संकेतसमेत दिएको छ। विमानस्थलबाटै नेता–कार्यकर्ताको स्वागत पाएका देउवा पछिल्लो समय पार्टीभित्र बढेको विवाद र राजनीतिक दबाबबीच आफ्नो पक्ष मजबुत बनाउने रणनीतिमा अघि बढेको देखिन्छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update