काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका छन्। साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवाले पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेसभित्र देखिएको निराशा र विवाद अन्त्य गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको उल्लेख गरेका छन्।
देउवाले आफूले राजनीतिक जीवनमा पाएका अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। उनले कांग्रेसले आफ्नो गौरवशाली इतिहास र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै जनताको चाहनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘परिवर्तनको ठूलो आकांक्षा देखिएको छ, त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ देउवाले भनेका छन्, ‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्दैमा हुने सत्ता र मुलुकका लागि हितकर हुँदैन।’
उनले कांग्रेसभित्रका साथीहरू निराश रहेको अवस्थाप्रति आफू जानकार रहेको भन्दै पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एकपटक जोड्ने समय आएको बताएका छन्।
देउवाले आफ्नो राजनीतिक यात्रामा विभिन्न उतारचढाव आए पनि लोकतन्त्र, राष्ट्रियता, संविधान र जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर काम गरेको दाबी गरेका छन्।
उनले आगामी दिनमा पनि पार्टी र देशका लागि आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउँदै ‘म नेता बनेर होइन, मभन्दा अगाडि आएका नागरिक बनेर फर्किएको छु’ भन्ने सन्देश दिएका छन्।
देउवाले नेपाली कांग्रेसलाई कमजोर बनाउने कुनै पनि गतिविधि नगर्न र पार्टीको एकतालाई मजबुत बनाउन सबै पक्षलाई आग्रह गरेका छन्। साथै, युवा पुस्ताले मागेको परिवर्तनलाई आत्मसात् गर्दै उनीहरूको सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।



