काठमाडौँ - प्राचीन समयमा यातायातका साधन थिएनन् । चारैतिर फैलिएका भारतका चार धाम बद्रीनाथ, रामेश्वरम्, द्वारका र जगन्नाथको यात्रा गर्नु भक्तका लागि केवल धार्मिक अभिलाषा मात्र थिएन, एउटा कठिन तपस्याजस्तै थियो। पैदल हिँडेर जीवनको लामो समय खर्चिएर ती धामसम्म पुग्नु सबैका लागि सम्भव थिएन। त्यही कठिनाइलाई मनन गर्दै काठमाडौंको सुन्दर र रमणीय काखमा बृहत् शान्तिधामको परिकल्पना गरियो। टाढा–टाढाका चार धामको आध्यात्मिक अनुभूति एउटै स्थानमा दिलाउने उद्देश्यले अघि बढेको यो यात्रा अहिले आकार लिँदैछ। वि.सं. २०७५ वैशाख ६ गते भगवान् बद्रीनारायणको भव्य प्रतिष्ठा सम्पन्न भयो र शान्तिधाम भक्तजनका लागि खुला भयो। त्यसपछि २०८२ साल फागुन ३ गते महाशिवरात्रिको पावन दिनमा भगवान् रामेश्वरम्को प्रतिष्ठा पनि सुसम्पन्न भयो। अहिले जगन्नाथ धाम र द्वारकाधीश धाम निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। चार धामको आस्थालाई एउटै भूमिमा समेट्ने यो प्रयासले शान्तिधामलाई धार्मिक आस्थाको केन्द्र मात्र बनाएको छैन, भक्तिभाव, अध्यात्म र पर्यटनको संगमस्थलका रूपमा समेत चिनाउँदै लगेको छ। एकादशी, शनिबार, श्रावण महिना र पुरुषोत्तम मासमा यहाँ लाग्ने भक्तजनको घुइँचोले त्यसको जीवन्त प्रमाण दिन्छ।
शान्तिधाम पुग्दा यहाँ केवल मन्दिरका शिखर देखिँदैनन्, आस्था र शान्तिको एउटा छुट्टै संसार भेटिन्छ। प्रार्थनाले भरिएको वातावरणमा उभिँदा मन आफैँ शान्त हुँदै जान्छ। अझ यहाँको विशेषता कुनै धरहराको टुप्पोमा चढ्नु पर्दैन, दूरबिनको सहारा लिनु पर्दैन। आफ्नै आँखाले काठमाडौं उपत्यकाको सुन्दरता र टाढैबाट धरहरालाई नियाल्न सकिन्छ। शहरको कोलाहलबाट केही पर तर काठमाडौंको मुटुसँगै जोडिएको शान्तिधाम आज धर्म, दर्शन, प्रकृति र पर्यटनको सुन्दर मिलन बनेर उभिएको छ। यहाँ पुग्ने भक्तका लागि यो केवल चार धामको दर्शन गर्ने ठाउँ होइन, केही क्षण आफ्नै मनभित्र फर्किने एउटा पवित्र अवसर पनि हो। यसै सन्दर्भमा शान्तिधामबारे मठाधिस श्री श्री १००८ स्वामी श्री चतुर्भुजाचार्य चुडामणी जी महाराजसँग गरिएको कुराकानी :-
शान्ति धाम र यसको धार्मिक आस्थाबारे बताइदिनुन् ।
अहिले हामी बद्रीधाम, काठमाडौं, शान्तिधाममा छौँ। जहाँ रामेश्वरम्, द्वारकाधीश, जगन्नाथ र बद्रीनारायण विराजमान हुनुहुन्छ। यस प्रकार चार युगमा चार धामको विशेष महत्त्व रहेको छ। सत्ययुगमा बद्रीनारायण, त्रेतायुगमा रामेश्वरम्, द्वापरयुगमा द्वारका र कलियुगमा जगन्नाथलाई चार धामका रूपमा मानिन्छ। हिन्दूहरूले आफ्नो जीवनकालमा यी चार धामको दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ। भारतका चार दिशामा यी चार धाम अवस्थित छन् । उत्तरमा उत्तराखण्डको बद्रीनारायण, दक्षिणमा रामेश्वरम्, पूर्वमा जगन्नाथ र पश्चिममा द्वारकाधीश। एउटा हिमालयको काखमा छ भने अरू समुद्रसँग जोडिएका छन्। चारै धामले हिन्दू धर्म, आस्था र संस्कृतिको गहिरो आध्यात्मिक महत्त्व बोकेका छन्।
परापूर्वकालमा चार धामको यात्रा गर्नु सहज थिएन। अहिले साधनको सुविधा भए पनि त्यतिबेला पैदल यात्रा गरेर चारै धाम पुग्नु लगभग असम्भवजस्तै थियो। चार धामको दर्शन गरे मुक्ति प्राप्त हुन्छ, यात्रा गर्दागर्दै नै मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास थियो। त्यसै आस्थाको निरन्तरताका रूपमा नेपालको यो दिव्य धरती, काठमाडौंको उत्तरी भेगमा भगवान् श्री बद्रीनारायण विराजमान हुनुहुन्छ। चार धामका प्रधान देवता भगवान् बद्रीनारायण यहाँ विराजमान हुनु आफैँमा ठूलो धार्मिक र आध्यात्मिक महत्त्वको विषय हो। भगवान् बद्रीनारायणलाई अष्टाक्षरी मन्त्रका प्रदाता तथा समस्त वैष्णव जनका कुलदेवताका रूपमा समेत श्रद्धापूर्वक स्मरण गरिन्छ। धार्मिक मान्यताअनुसार विभिन्न वर्षमध्ये भारतवर्ष, भरतखण्ड तथा आर्यावर्तको प्रधान देवताका रूपमा भगवान् बद्रीनारायणलाई मानिन्छ । त्यसैले यति महत्वपूर्ण र दिव्य भगवान् बद्रीनारायणको दर्शन नेपालको भूमिमै गर्न पाउनु आफैँमा सौभाग्य र ठूलो आध्यात्मिक अवसर हो।
२०७५ साल वैशाख ६ गते बद्रीनारायणको प्रतिष्ठा सुसम्पन्न भयो। श्रीमद् वेदनारायणका प्रतिष्ठापनाचार्य, उभय वेदान्त प्रवर्त्तकाचार्य, गोवर्धन रङ्गाचार्य स्वामीजी महाराजको वरद्भावलीबाट यो कार्य सम्पन्न भयो। २०८२ साल फागुन ३ गते महाशिवरात्रिमा रामेश्वरम् भगवानको प्रतिष्ठा सम्पन्न भयो। अब जगन्नाथको मन्दिर निर्माण हुँदैछ। द्वारकाधीश निर्माणको कार्य शुभारम्भ भएको छ। यो चार धाम यसै क्षेत्रमा बनेर नेपालको आन्तरिक पर्यटन बलियो भएको छ । अहिले त भारतवर्षका धेरै ठाउँका भक्तहरू यहाँ आउन थालिसके। एकादशी, शनिबार, श्रावण महिना, पुरुषोत्तम मासमा त ठूलो भीड लाग्छ ।
त्यसकारणले यो नेपालको धार्मिक, आध्यात्मिकसँगसँगै, स्थानीय तहको ठूलो कार्यक्रम हो। साथसाथै देशको आध्यात्मिक, धार्मिक र विकासको क्षेत्रमा टेवा पुर्याउने एउटा कार्यक्रम भएको छ। भक्तजनहरू आफ्नो जन्मउत्सव मनाउन, पवित्र विवाहउत्सव, व्रतबन्ध उत्सव, सम्पूर्ण वैवाहिक कार्यक्रमहरूदेखि लिएर माङ्गलिक कार्य गर्ने स्थान भएको छ। आफ्ना वैकुण्ठवासी भएका पितृहरूको नाममा अर्चना गरे, बद्रीनारायणलाई तुलसीपत्र सेवा गरे मात्रै मोक्ष कल्याण हुनेछ।
बद्रीनारायण ०७५ सालबाट स्थापनाको कार्य सुरु भयो । नेपाल सरकारसँग भोगाधिकार लिएर २०७१ सालबाट निर्माण कार्य अगाडि बढेको हो। अब भावी दिनमा यसको छिटै अरू दुई मन्दिर बनेर चारै धामको दर्शनको अवसर मिल्नेछ। यो धेरै टाढा छैन। बद्रीनारायण धाम, शान्तिधाम, काठमाडौं रिङरोडदेखि उत्तर भेग तारकेश्वर नगरपालिका–२ मा छ। नयाँ बसपार्कबाट ८ किलोमिटरको दूरीमा रहेको सुन्दर रमणीय स्थानमा छ। यहाँबाट धरहरालाई आफ्नै आँखाले देख्न सकिन्छ । काठमाडौंमा आउनेबित्तिकै धरहरा हेर्न जान्छन् तर अब बद्रीनारायण भगवानलाई दर्शन गरेपछि सबै देखिन्छ । यस्तो राम्रो, सुन्दर स्थानमा यो निर्माण भएको छ। सबै भक्तहरूलाई आफू छिटोभन्दा छिटो आएर यो दर्शन गर्नको लागि म अनुरोध गर्दछु।
यो जगन्नाथ धामको बारेमा भन्दिनु न।
जगन्नाथ भगवान् स्वयं कलियुगको धाम भनेर मानिन्छ, भगवान् श्रीकृष्ण, बलराम र सुभद्रा। धेरै ठाउँका मन्दिरमा भगवान् श्रीकृष्णसँग राधाजीको सन्निधि छ । तर एउटा मात्रै यस्तो सन्निधि छ भगवान्को जगन्नाथ धाममा, जुन भोगवर्धन हुनुहुन्छ, जुन नीलाञ्चलमा निवास हुनुहुन्छ, पुरुषोत्तम क्षेत्र भनिन्छ, पुरुषोत्तम महात्म्य छ । पुरुषोत्तम बनेर भगवान् विराजमान हुनुभएको छ, पूर्वमा समुद्रको तटमा। उहाँ नै जगन्नाथ, बलरामजी र सुभद्रा बनेर बस्नुभएको छ। त्यसकारणले आफ्नो बहिनीसहित, बलदाउसहित प्रत्येक १२–१२ वर्षमा नीमको काठको भगवान्को मूर्ति बन्दछ। काष्ठ, दारुविग्रह भनिन्छ।
भगवानको सुवर्णको, रजतको, मृत्तिकाको र पत्थरको धेरै मूर्ति बनेका छन् । लकडी (काठ) दारुविग्रह भनेर भगवान् दारुब्रह्म भनिन्छ। दारुब्रह्म भनेर भगवानलाई जगन्नाथको रूपमा विराजमान गराइन्छ। आषाढ शुक्ल द्वितीयामा विश्वकै सबैभन्दा धेरै मान्छेहरूको एउटै मेला लाग्ने ठूलो यात्रा हुन्छ, रथयात्राको नामले। भगवानको गुण्डिचा यात्रा भनिन्छ जसलाई । आफ्नो माताजीको दर्शन गर्न जानुहुन्छ भगवान। यस्तो विशाल महात्म्य छ । यहाँ पनि भगवानको छिट्टै सवारी हुने कार्यक्रम हुन्छ भगवानकै इच्छाले।
मन्दिर भित्र पस्ने ठाउँमा छोटो वस्त्र लगाउनु हुँदैन भनेर बोर्डमा लेखिएको छ किन ?
सबै ठाउँमा आफ्नो मर्यादामा रहनुपर्दछ। एउटा साधारण सैनिक अथवा सिपाही हाफपाइन्ट लाएर कार्यालय गयो भने त्यही दिन उसको नोकरी जान्छ । सामान्य कर्मचारीको त आफ्नो ड्रेस कोड हुन्छ भने भगवानको सम्मुखमा जाँदै गर्दा आफ्नो एउटा वस्त्रको, परिधानको, भोजनको मर्यादा हुन्छ । मान्छे र पशुमा भिन्नता भनेकै आचरणले छ। त्यसकारणले आचार भएन भने त्यो ‘आचारहीना पशुभिः समाना’ हुन्छ। त्यसकारणले कमसेकम भगवानको श्रीविग्रहको मन्दिरमा जाँदै छौँ, उत्ताउला वस्त्रहरू, अङ्ग प्रदर्शन हुने वस्त्रहरू नलगाइकन धोती धारण गर्दै जानुपर्छ। दक्षिण भारतमा पाइन्ट लाएर कहीँ जान पाइन्न ।
अहिले विदेशी, आयातित वस्त्रहरूलाई निषेध गरेर कमसेकम भगवानको मन्दिरमा आउँदा नेपाली स्वदेशी चौबन्दी चोली र साडी धारण गरेर आयो भने नेपालको उन्नति, संस्कृतिको पनि उन्नति, भगवान पनि खुसी हुनुहुन्छ भनेर यस प्रकारको आचारण जगेर्ना गराउने कार्य भएको छ। यो विषयमा राम्रो प्रतिक्रिया आएको छ। मन्दिर जाँदै हुनुहुन्छ, हातमा पुष्पको गुच्छा लिएर, एउटा फल लिएर, हात जोड्दै जानुभएको छ भने त्यो सुहायो। हातमा अभक्ष्य चिजका भाँडाहरू, नयाँ-नयाँ विभिन्न प्रकारका सिसी-बोतल लिएर आउनुभयो भने सुहायो त? सुहाएन। त्यसकारणले यो सांकेतिक कुरा हो, ठूलो महत्व राख्छ।
यो सिसा महल आकर्षणको लागि हो कि धार्मिक आस्था पनि केही छ?
त्यो धार्मिक आस्था र वेदान्तको दर्शनसँग जोडिएको विषय हो। संसारलाई ‘मिथ्या’ अर्थात् देखिएजस्तो वास्तविक नभएको विषयका रूपमा वेदान्तले व्याख्या गर्दै आएको छ। तर यसलाई व्यवहारिक रूपमा अनुभूति गर्ने अवसर भने सहज थिएन। यही अवधारणालाई व्यवहारिक रूपमा अनुभूति गराउने गरी सिसा महल निर्माण गरिएको छ। सिसा महलभित्र प्रवेश गरेपछि एउटै व्यक्तिको असंख्य प्रतिबिम्ब देखिन्छन्। हजारौँ कोठा र विभिन्न स्वरूप देखिने भएकाले त्यहाँ पुग्ने व्यक्तिले आफूलाई नै अनेकौँ स्वरूपमा देख्न सक्छ। यसले आँखाले देखेको सबै कुरा वास्तविक हुँदैन भन्ने वेदान्तको अवधारणालाई प्रत्यक्ष रूपमा बुझ्न सहयोग गर्छ। बाहिरबाट हेर्दा असंख्य स्वरूप र दृश्य देखिए पनि वास्तविकता भने एउटै हुन्छ। त्यसैगरी भगवान्को पनि एउटै मात्र स्वरूप नभई अनेक रूप र स्वरूप रहेको धार्मिक मान्यता छ। भगवान् ‘अनेक रूपरूपाय विष्णवे प्रभविष्णवे’ हुनुहुन्छ भन्ने मान्यताअनुसार भगवान् विभिन्न रूप धारण गर्न समर्थ हुनुहुन्छ। त्यसैले सिसा महलमा देखिने असंख्य प्रतिबिम्बमार्फत वेदान्तमा वर्णित संसारको स्वरूप, दृश्य र वास्तविकताबीचको अन्तरलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न सकिन्छ। यो धार्मिक दर्शनलाई व्यवहारिक र दृश्य माध्यमबाट बुझाउने एउटा प्रभावकारी प्रयासका रूपमा प्रस्तुत गरिएको छ।
त्यो धार्मिक आस्था छ। संसारले भन्दै आए संसार मिथ्या हो । जे देखिन्छ त्यो सत्य होइन भनेर वेदान्तले भन्दै आए । तर त्यो प्र्याक्टिकली रूपमा देख्ने कुरा थिएन। त्यसकारणले सिसा महलमा प्रवेश गरेपछि एउटै मान्छेले १ लाख आफ्नो मूर्ति देख्छ । १ लाख स्वरूप देख्छ । हजारौँ कोठा देख्छन्। त्यहाँ जानेले मलाई भन्न आउँछन्, "गुरुजी, त्यहाँ ५० रुपैयाँ लियो तर भित्रको कोठै खोल्दिएनन्" ? त्यसकारणले देख्न लाखौँ देखिन्छ, वस्तुतः त्यो सत्य होइन। त्यसै गरी यो संसार पनि देख्न चित्रविचित्र देखिन्छ, यो पनि सत्य होइन । अर्को भगवानको एकै होइन अनेक रूप । भगवान त अनेक रूपरूपाया विष्णवे प्रभविष्णवे हुनुहुन्छ। त्यसकारणले भगवान त कर्तुम् अकर्तुम् अन्यथाकर्तुम् समर्था कर्तुम् हुनुहुन्छ। त्यसैले सिसा महलमा देखिने असंख्य प्रतिबिम्बमार्फत वेदान्तमा वर्णित संसारको स्वरूप, दृश्य र वास्तविकताबीचको अन्तरलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न सकिन्छ। यो धार्मिक दर्शनलाई व्यवहारिक र दृश्य माध्यमबाट बुझाउने एउटा प्रभावकारी प्रयासका रूपमा प्रस्तुत गरिएको छ।


