Harsamaya
बजेट अस्वीकार गर्दै शेखरले भने - अभाव र कठिनाइमा रहेका नागरिकका आवश्यकतामा खर्च गर्नू
ग्राफिक्स:हर समय/Har Samaya

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित बिपी कोइरालाको जन्मघर (कोइराला निवास) मर्मत तथा संरक्षणका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा छुट्याइएको २ करोड रुपैयाँ फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै बुधबार पठाएको पत्रमा उनले अभाव र कठिनाइमा रहेका नागरिकका आवश्यकता प्राथमिकतामा राख्नुपर्ने भन्दै उक्त बजेट स्वीकार गर्न नसकिने उल्लेख गरेका छन्।

कोइरालाले विगत वर्ष जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको कोइराला निवास नेपालको लोकतान्त्रिक इतिहासको महत्वपूर्ण धरोहर भए पनि वर्तमान परिस्थितिमा सीमित स्रोतसाधन जनहितका क्षेत्रमा खर्च हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले बिपी कोइरालाले आम नेपालीको गाँस, बास र कपासका लागि जीवनभर संघर्ष गरेको स्मरण गर्दै जनताको दुःखका बेला कोइराला निवासका लागि छुट्याइएको बजेट फिर्ता गर्नु नै बिपीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।

२०८२ भाद्र २४ गतेको जेन्जी आन्दोलनमा आगजनीबाट नष्ट भएको कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि नेपाल सरकारले २ करोड रकम विनियोजन गरेको थियो ।

shekhhar-1786078959.jpeg

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update