सिन्धुपाल्चोक - नेपाली कांग्रेसभित्र आन्तरिक विवाद, गुटगत गतिविधि र असन्तुष्टि बढिरहेका बेला युवा नेता एवं महाधिवेशन प्रतिनिधि विकास तामाङले पार्टीलाई टुक्र्याउने नभई जोगाउने अभियानमा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिद्वारा आयोजित जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै तामाङले कांग्रेस कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै व्यक्तिगत स्वार्थ र गुटगत राजनीतिभन्दा माथि उठ्न नेतृत्व तथा कार्यकर्तालाई आग्रह गरे।
पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको भूमिकाको प्रशंसा गर्दै तामाङले उहाँलाई सिन्धुपाल्चोकको अभिभावकमा मात्र सीमित गर्न नहुने बताए। ‘मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकको अभिभावक मात्र होइन, कांग्रेस जोगाउन उभिएको देशकै एउटा खम्बा हुनुहुन्छ,’ तामाङले भने।
पार्टीभित्रका विवाद, असन्तुष्टि, गुटगत गतिविधि र पक्षपातले कांग्रेसको संगठन कमजोर बन्ने अवस्था सिर्जना गरेको उनको भनाइ थियो। यस्तो अवस्थामा आन्तरिक मतभेदलाई थप चर्काउनेभन्दा संवाद, सहकार्य र एकतामार्फत पार्टीलाई बलियो बनाउनुपर्ने उनले बताए।
‘कांग्रेस टुक्र्याउने खेलमा नलागौं। अहिले पार्टी विभाजन र विखण्डनतर्फ जाने समय होइन, कांग्रेसलाई एकताबद्ध र बलियो बनाउने समय हो,’ तामाङले भने।
लोकतान्त्रिक व्यवस्था र नेपालको संविधानमाथि चुनौती आउन सक्ने परिस्थितिमा कांग्रेसभित्रको एकता झनै आवश्यक रहेको उनले बताए।
‘कांग्रेस कमजोर भयो भने लोकतान्त्रिक शक्ति कमजोर हुन्छ। त्यसैले व्यक्तिगत स्वार्थ र गुटगत मतभेदभन्दा माथि उठेर पार्टी र संविधान जोगाउने अभियानमा सबै एक ठाउँमा उभिनुपर्छ,’ तामाङले जोड दिए।
कांग्रेसको संगठन, विचार र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप मजबुत बनाउन नेतृत्व र कार्यकर्ताबीच विश्वास, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

