Harsamaya

काठमाडौं - काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको अभूतपूर्ण स्थान हो । जहाँ जताततै देवताको बास रहेको किम्वदन्तीहरू छ । त्यस्तै उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शान्त र हरियाली वातावरणबीच अवस्थित तारकेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मिक आस्था र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ ।

पौराणिक इतिहास, प्राकृतिक सौन्दर्य र दिव्य शक्तिसँग जोडिएको विश्वासका कारण यहाँ दैनिक सयौं भक्तजन पुग्ने गरेका छन् ।

ऐतिहासिक पाँचमाने र जितपुरफेदी हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थलका रुपमा परिचित छ ।

स्कन्दपुराणको केदारखण्ड अन्तर्गत श्री स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतीदेवीको दाहिने तिघ्रा पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पन्न भई शिवशक्तिको स्वरुपमा विराजमान रहेको विश्वास गरिन्छ ।

मन्दिर परिसर वरपर रहेका झरना, गुफा, पोखरी र प्राकृतिक दृश्यले यहाँ पुग्ने भक्तजन तथा पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । शिवरात्री, जनैपूर्णिमा, एकादशी तथा नयाँ वर्षका अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ भने टाढाटाढाबाट भक्तजन पूजाआजा र दर्शनका लागि आउने गर्छन् । 

धार्मिक कथाअनुसार देव–दानव युद्धका क्रममा भगवान शिवले ‘घोर स्वरुपमा म तारकेश्वरमा रहन्छु’ भन्दै देवसेना र देवगणलाई युद्धका लागि आवश्यक सिद्धि र शक्ति यहीँबाट प्राप्त हुने वरदान दिएका थिए । त्यसपछि देवगणले तारकेश्वरमा आएर महादेवको आराधना गरी दिव्य शक्ति र हतियार प्राप्त गरेको जनविश्वास छ ।

तारकेश्वर धामका पुजारी आनन्द स्वामीका अनुसार यो स्थान स्वयं उत्पत्ति भएको दिव्य शक्ति केन्द्र हो । उनले यहाँ प्रार्थना गर्दा सन्तान प्राप्ति, वैदेशिक रोजगारमा सफलता तथा मनोकामना पूरा हुने विश्वास रहिआएको बताए ।‘सत्ययुगदेखि नै यो स्थानमा दिव्य शक्ति रहेको छ, यहाँ आएर श्रद्धापूर्वक प्रार्थना गर्नेहरूको इच्छा पूरा हुने विश्वास छ,’ उनले भने । 

उनले माता सतीदेवीको दायाँ तिघ्रा पतन भएर त्यहाँबाट तार्केश्वर महादेव उत्पन्न भइ शिवशक्ति स्वरुपले रहेको जानकारी दिए । पछि महालक्ष्मीले आएर शिवको पुजा गरेपछि महालक्ष्मीलाई वरदान मिलेपछि प्रत्येक वर्ष कार्तिक औंसीको दिन लक्ष्मीको रुपमा घर-घर पुजिने गरेको पनि उनले बताए । ‘यो त्रिशक्तीको केन्द्र हो दुर्गा शक्ती, लक्ष्मी शक्ती र शिव शक्ति’, उनले भने ।

यो मन्दिरको दर्शन गरेपछि सन्तान सुख हुने जनविश्वास छ ।  ५/१० वर्षसम्म सन्तान सुख प्राप्त नभए यहाँ आएर भगवानसंग प्राथना गरेपछि सन्तान प्राप्ति हुने उनले बताए । अहिले धेरै सन्तान सुख मिलेका दिदीबहिनीहरु-आमाहरू यस मन्दिरमा आउने गर्छन् ।  वर्षा नभएर सुख्खा लागे यहाँ प्राथना गरेर पानी पर्ने जनविश्वास पनि छ । पछिल्लो समय वैदेशिक रोजगारको क्रममा भिसा अपलाई गरेर यहाँ आउने र यहाँ आएको केही दिनमा भिसा प्राप्तिमा सफलता मिलेको गुरुको दाबी छ । ‘दर्शन गरेर गएपछि भिसा लाग्यो पूजा आराधना गर्नुपर्यो भनेर धेरै आउनुहुन्छ’, उनले भने । 

स्थानीय बासिन्दा तथा शिक्षक विष्णु लामिछानेले पछिल्लो समय तारकेश्वर महादेव मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण उल्लेखनीय रुपमा बढेको बताए । उनका अनुसार स्थानीय तहले मन्दिर क्षेत्रको पुनःनिर्माण, संरक्षण तथा प्रचारप्रसारमा ध्यान दिएपछि भक्तजनको संख्या बढेको हो । अझ धेरै पर्यटक भित्र्याउनको निम्ति यसलाई व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्ने लामिछानेको तर्क छ । त्यसका लागि पर्यटकको सहजीकरणको लागी बाटोको सुविधा व्यवस्थित हुनुपर्ने उनी बताउँछन् । जितपुर गाविसले मात्र होइन काभ्रेस्थली गाविस र समग्र तार्केश्वर नगरपालिकाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको कालीबाबाको कुटी र मन्दिर क्षेत्रलाई तारकेश्वर नगरपालिका तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा पुनःनिर्माण गरिएको छ । अहिले मन्दिर क्षेत्रको संरक्षण, पदमार्ग व्यवस्थापन र धार्मिक पर्यटन प्रवर्द्धनका कामहरू भइरहेको स्थानीयले बताएका छन् ।

पाँचमानेबाट करिब १.२ किलोमिटरको हाइकिङ ट्रेलमार्फत पुग्न सकिने यो क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यहाँ दाउरा काट्न, आगो बाल्न, शिकार गर्न, धुम्रपान गर्न तथा फोहोर गर्न कडाइका साथ निषेध गरिएको छ ।

प्राकृतिक शान्ति, धार्मिक विश्वास र पौराणिक इतिहासको संगम बनेको तारकेश्वर महादेव अहिले काठमाडौं उपत्यकाकै महत्वपूर्ण धार्मिक गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।

गुफाको महिमा यस्तो छ 
विभिन्न महिमाहरु यहाँ सत्ययुग देखि नै चल्दै आएको छ । सत्य युग देखि नै यो ठूलो गुफा गोसाईकुण्ड जाने बाटो भएको पुजारी आनन्द स्वामीले बताउँछन् । उनका अनुसार तान्त्रिक, साधकहरु यहीँ गुफाबाट गोसाइकुण्ड जान्थे । साधकहरू आफ्नो मनको इच्छा अनुसार शरीर त्यस्तै रुपमा ढाल्न सक्थे ।  कोइ साप बन्न सक्ने, कोही शरीरलाई हल्का बनाउन सक्थे । उनीहरू गोसाइँकुण्ड जान्थे स्नान गर्थे र दर्शन गरेर यहीँबाट फर्कन्थे ।

पहिले गोसाइँकुण्डबाट आएको जल लगातार यहाँबाट बगेर गएर तल कुण्डमा जम्मा हुन्थ्यो । एक चोटि यहाँका श्रद्धालु गोसाइँकुण्ड स्नान गर्न गए । उनको लोटा गोसाइकुण्डमा हरायो ।  पछि फर्केपछि नजिकको तीर्थमा गएर स्नान गरौंन भनेर यहाँ आउँदा त्यहीँ कुण्डमा लोटा भेटिएको थियो । 

तस्विरहरु :
Tarkeshwor-Mahadev-1-1780031146.jpg
Tarkeshwor-Mahadev-2-1780031146.jpg
Tarkeshwor-Mahadev-3-1780031147.jpg

Tarkeshwor-Mahadev-4-1780031147.jpg
काभ्रेश्वोर महादेव ।

Tarkeshwor-Mahadev-5-1780031147.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update