सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक जिल्ला निर्वाचन समितिले प्रथम जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
सार्वजनिक कार्यतालिकाअनुसार साउन २२ गते बिहान ९ बजे जिल्ला अधिवेशनका प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। सोही दिन बिहान ९ बजेदेखि १० बजेसम्म नामावलीमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ भने ११:३० बजे अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, उम्मेदवारहरूको मनोनयन दर्ता बिहान ११:४५ देखि १२:४५ बजेसम्म हुनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो १:३० बजे सार्वजनिक गरिनेछ। त्यसपछि १:३० देखि ३:०० बजेसम्म दाबी–विरोध, छानबिन तथा उम्मेदवारी फिर्ताको प्रक्रिया सञ्चालन हुनेछ।
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली दिउँसो ४ बजे प्रकाशन गरिनेछ।
मतदान साउन २२ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ भने दिउँसो २ बजेदेखि मतगणना सुरु गरिनेछ। मतगणना सम्पन्न भएपछि नतिजा घोषणा गरिने कार्यतालिकामा उल्लेख छ।
निर्वाचन समितिले तोकिएको समयतालिका अनुसार आवश्यक तयारीसहित सहभागिता जनाउन सबै प्रतिनिधि तथा सरोकारवालालाई अनुरोध गरेको छ।


