Harsamaya
पहिरो र बाढीले विभिन्न मुख्य राजमार्ग अवरुद्ध, अरनिकोसहित चार सडकखण्ड पूर्ण ठप्प
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बाढी, पहिरो तथा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।

बागमती प्रदेशमा काभ्रेको खुकुोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावनाका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको अवस्था हेरेर सवारी सञ्चालन गरिने जनाइएको छ।

मकवानपुरको हेटौंडा–ढुंगे–बागमती–ललितपुर सडकखण्डमा पहिरोका कारण राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो, वडा नं. २ कोदारी र लिपिङमा सडक पूर्णरूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा बागलुङको जैमिनी नगरपालिका–६ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगाड खोलामा बाढीका कारण भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीले अवरुद्ध सडकखण्डमा तत्काल वैकल्पिक मार्गको अवस्था बुझेर मात्र यात्रा गर्न तथा वर्षाका कारण थप जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update