Harsamaya
सांसद आशिका तामाङको व्यङ्ग्य -मन्त्रालय धाउँदैमा दिन बित्छ, संसदमा संख्या कसरी पुग्छ?  
रास्वपाकी सांसद आशिका तामाङ ।

काठमाडौं -  रास्वपाकी सांसद आशिका तामाङले संसदमा सांसदको संख्या नपुगेको विषयप्रति व्यंग्य गर्दै जनताको गुनासो बोकेर मन्त्रालय धाउनुपर्ने बाध्यताका कारण संसदमा उपस्थिति प्रभावित हुने गरेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले सरकार र प्रधानमन्त्री फेरिए पनि जनताको काम कार्यान्वयन गर्ने कर्मचारी तथा मन्त्रालयका सचिवहरू नै भएकाले सांसदले आफ्ना क्षेत्रका समस्या समाधानका लागि पटक–पटक मन्त्रालय धाउनुपर्ने अवस्था रहेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘हिजो सदनमा सांसदहरूको संख्या पुगेन रे? अब सांसदहरू सबै मन्त्रालयको ढोकामा कति खेर मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ, अनि पुग्छ त संख्या?’

निर्वाचित जनप्रतिनिधिसमक्ष सबैभन्दा पहिले जनताका गुनासा र समस्या आउने भन्दै तामाङले ती समस्या सम्बन्धित कार्यालय र मन्त्रालयमा पुर्‍याउँदा सहज रूपमा काम नहुने गुनासो गरेकी छन्।

मन्त्री तथा सचिवसँग भेट्न समय लिनुपर्ने, फोन गर्दा व्यस्त हुने र कतिपय अवस्थामा मन्त्रालयमै आएर मन्त्रीलाई भेट्न भनिने गरेको उनको भनाइ छ। एउटा मन्त्रालयको काम सकेपछि शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधारलगायत अन्य मन्त्रालयमा पनि गुनासा लिएर धाउनुपर्ने बाध्यता रहेको उनले बताएकी छन्।

‘एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो, अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधार इत्यादि गुनासो लिएर सम्बन्धित मन्त्रालय जान त अझै बाँकी नै छ,’ उनले भनेकी छन्।

दिनभर मन्त्रालय धाउँदा साँझ ५ बजिसक्ने र छोराछोरीलाई स्कुलबाट ल्याउने समयसमेत सम्झिनुपर्ने अवस्था रहेको भन्दै उनले जनप्रतिनिधिको काम र सरकारी संयन्त्रबीचको समन्वय तथा कार्यशैलीप्रति प्रश्न उठाएकी छन्।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update