रौतहट - मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा मौलापुर नगरपालिका–३ का वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वडाध्यक्ष महेश महतो कोइरी र सोही स्थानका त्रिकिशोर कुशवाहा रहेका छन्।
२०८२ असार ६ गते दिउँसो मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालयनजिक मौलापुर–जयनगर सडकखण्डमा वडाध्यक्ष कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार करिब २० वर्षीय निरज कुशवाहा घाइते भएका थिए। उपचारका क्रममा २०८२ माघ १७ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनासम्बन्धी सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले साउन २५ गते दुवै जनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

