Harsamaya
सुनकोशी नदीमा बेपत्ता तिलकुमारीको शव फेला, श्रीमान्को अवस्था अझै अज्ञात
तिलकुमारी पराजुली र केदारनाथ पराजुली ।

काभ्रे - भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझदेखि बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सुनकोशी नदीमा फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका–७ निवासी पराजुली बुधबार साँझदेखि श्रीमान् केदारनाथ पराजुलीसँगै बेपत्ता भएकी थिइन्। उनीहरूको खोजी गर्ने क्रममा तिलकुमारीको शव ओखलढुंगाको सीमाक्षेत्रस्थित सुनकोशी नदीमा फेला परेको हो।

तिलकुमारीसँगै बेपत्ता भएका उनका श्रीमान् केदारनाथको अवस्था भने अझै अज्ञात रहेको छ। उनको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयको टोलीले सुनकोशी नदी आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ।

बुधबार साँझ दोलालघाटबाट दम्पती एकैसाथ बेपत्ता भएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनीहरूको सम्भावित स्थान तथा नदी आसपासका क्षेत्रमा खोजी सुरु गरिएको थियो।

खोजीका क्रममा तिलकुमारीको शव नदीमा फेला परेपछि घटनाले थप गम्भीर रूप लिएको छ। केदारनाथको अवस्था पत्ता लगाउन नदी तथा आसपासका क्षेत्रमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

घटनाको कारण र उनीहरू कसरी बेपत्ता भए भन्ने विषयमा पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update