अटो र ट्याक्टर ठोक्किँदा महिलाको मृत्यु, चार जना घाइते
झापा - झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखी बिवीसहित पाँच जना घाइते भएका थिए।
घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सुखी बिवीको दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य चार जना घाइतेको उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

