काठमाडौं - आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको सर्वस्वहरण भएको भन्दै वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले देशलाई संकटबाट निकाल्न आफूहरू एकजुट भएको बताए। उनले भने, ‘फेक शासन होइन, रियल शासन चाहन्छौँ।’
साहले मोर्चा सरकार बनाउने वा गिराउने, पद बाँडफाँड गर्ने तथा सत्ता प्राप्तिका लागि नभएको दाबी गरे। देशको संकट समाधान र निर्माणका लागि मोर्चा गठन गरिएको उनको भनाइ थियो।
उनले विगतका गठबन्धन नेतृत्वमा इमानदारिता, वैचारिक स्पष्टता र संकीर्ण तथा व्यक्तिवादी सोचका कारण असफल भएको बताए। अब टुटफुट नभई एकता र ध्रुवीकरणको राजनीति आवश्यक रहेको उनको भनाइ छ।
देशमा बढ्दो पलायन, मूल्यवृद्धि, किसानको निराशा र व्यवसायीको पलायनप्रति चिन्ता व्यक्त गर्दै साहले वर्तमान संकटको समाधानका लागि मोर्चाले काम गर्ने बताए।
उनले मोर्चाले ‘हिमालको हित, पहाडको प्रगति र मधेशको मान’ बढाउने दाबी गर्दै सहकार्य लामो समयसम्म जाने बताए। साहले आफूहरू पुरानो राजनीतिको निरन्तरता नभई क्रमभंग भएको दाबीसमेत गरे।

