काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा संसदको अभिलेखबाट हटाउन आफूहरू लामो समयदेखि माग गर्दै आएको बताए।
उनले राष्ट्रियताको विषयमा कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डमा राख्न नहुने धारणा राखे। प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई जवाफ दिन लगाउन वा सभामुखले यस विषयमा रुलिङ गर्नुपर्ने उनको माग थियो।
‘यो सदनमा हामीले लामो समयदेखि सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा आएर बोल्दा ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन माग गर्दै आएका छौं। यो राष्ट्रियताको सवाल हो, हाम्रो जमिनको सवाल हो। हामी राष्ट्रका लागि आवश्यक पर्दा रगत बगाउन सक्छौं, शिर बलिदान गर्न सक्छौं, तर राज्यप्रतिको विवादास्पद भनाइलाई राष्ट्रिय रेकर्डमा राख्न सक्दैनौं। त्यसैले सभामुखमार्फत प्रधानमन्त्रीलाई संसदमा बोलाइयोस् वा रुलिङ गरेर उक्त अभिव्यक्ति रेकर्डबाट हटाइयोस्,’ उनले भने ।
सांसद दुलालले एक महिनादेखि पहिरोका कारण अवरुद्ध रहेको तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए। डाक्लाङ, इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण सडक बन्द हुँदा भोटेकोशी गाउँपालिकाको जनजीवन कष्टकर बनेको र चीनसँगको प्रमुख व्यापारिक मार्ग अवरुद्ध हुँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उनले बताए।
उनले केही साताअघि मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा उच्च सरकारी अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरे पनि सडक सञ्चालनका लागि प्रभावकारी पहल नभएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले सरकारले विपद् व्यवस्थापनभन्दा ‘विपद् पर्यटन’ मा बढी ध्यान दिएको जस्तो देखिएको टिप्पणी गरे।
‘एक महिनादेखि तातोपानी नाका बन्द हुँदा भोटेकोशी गाउँपालिका नै सडक यातायातबाट विच्छेद भएको छ। मन्त्रीहरू र उच्च अधिकारीहरूको टोली निरीक्षणमा पुग्यो, तर आजसम्म सडक सञ्चालन गर्ने तदारुकता देखिएको छैन। सरकार विपद् व्यवस्थापन गर्न गएको हो कि विपद् पर्यटन गर्न गएको हो भन्ने प्रश्न उठेको छ। त्यसैले अबिलम्ब तातोपानी नाका र अरनिको लोकमार्ग खुला गरियोस्, सडक मर्मत गरियोस् र जनजीवन सहज बनाइयोस्,’ उनले भने ।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित निर्माणाधीन अपर बलेफी ‘ए’ जलविद्युत् आयोजनामा असार १४ गतेदेखि बेपत्ता भएका हेलम्बु–५ का अमरे तामाङको खोजी कार्य केन्द्रबाट प्रहरी परिचालन गरी तीव्र बनाउन सरकारसँग आग्रह गरे।

