Harsamaya
 ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, चालकले मापासे गरेको पुष्टि
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

पर्सा - वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट आरजे १४ जीइ ८७१० को ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनापछि ट्याङ्कर चालक घटनास्थलबाट फरार भएका थिए।

दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्रहरीले फरार ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाको साहेबगञ्ज निवासी अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेको प्रहरीले जनाएको छ। स्वास्थ्य परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update