कैलाली - कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको छ। बसमा सवार अन्य २७ जना भने सकुशल रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगे पनि सञ्चालनयोग्य रहेको प्रहरीले जनाएको छ। सडकमा सवारी आवागमन सामान्य रहेको छ भने दुवै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

