मकवानपुर - भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ।
ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। दुवै जनालाई उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा बिहान ९ः१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

