रोल्पा - त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप चालक गंगादेव गाउँपालिका–१ निवासी २२ वर्षीय दिलकुमार वलीले चलाइरहेका बेला जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको हो।
जिपमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा सहचालक २४ वर्षीय चित्रराम वली गम्भीर घाइते भएका छन् भने अन्य आठ जनाको पनि उपचार भइरहेको छ।
दुर्घटनापछि सबै घाइतेको उद्धार गरी स्वास्थ्य चौकी जुगारमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर (दाङ) पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले जिप चालक दिलकुमार वलीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

