Harsamaya
२४ घण्टामा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ९५ जना घाइते
सुनकोसीमा खसेको कार ।

काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९५ जना घाइते भएका छन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ। त्यसपछि कोशी प्रदेशमा २, गण्डकी प्रदेशमा १ र लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार झापामा पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोरङमा स्कुटर दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ।

यस्तै, सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्री, महोत्तरीमा ट्र्याक्टरको ठक्करबाट एक वृद्ध, सिरहामा मोटरसाइकल दुर्घटनामा चालक र पछाडि सवार, बारामा मोटरसाइकल र साइकल ठोक्किँदा साइकलयात्री तथा तनहुँ र कपिलवस्तुमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेको संख्या भने मधेश प्रदेशमा ३२ जना रहेको छ, जुन सबैभन्दा बढी हो। त्यसपछि कोशीमा २०, काठमाडौं उपत्यकामा १६, लुम्बिनीमा १५, सुदूरपश्चिममा ८, बागमतीमा २ र कर्णालीमा २ जना घाइते भएका छन्। गण्डकी प्रदेशमा घाइतेको संख्या शून्य रहेको छ।

प्रहरीले वर्षायाममा सडक चिप्लो हुनु, तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउनु र ट्राफिक नियम उल्लंघन दुर्घटनाका प्रमुख कारण रहेको उल्लेख गर्दै चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update