काठमाडौं - नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला नेपाल तरुण दलले पार्टीको नाममा हुने कुनै पनि अनधिकृत गतिविधिमा संलग्न नहुन आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।
तरुण दलका अध्यक्ष मनिष कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा दल आफ्नो नीति, नियम र विधानअनुसार सञ्चालन हुने लोकतान्त्रिक संस्था भएको उल्लेख गर्दै निर्धारित विचार, कार्यक्रम र योजनाभन्दा बाहिरका गतिविधिबाट भ्रम सिर्जना गर्ने प्रयास नगर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा कुनै व्यक्ति वा स्वार्थ समूहले आयोजना गर्ने भेला वा सभामा तरुण दलका सदस्य तथा पदाधिकारी सहभागी नहुन आग्रह गरिएको छ। यस्ता गतिविधिमा संलग्न भई संगठनको अनुशासनविपरीत काम गरेमा आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ।
नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेलगत्तै तरुण दलले यस्तो धारणा सार्वजनिक गरेको हो। यसलाई कांग्रेसभित्र बढ्दो आन्तरिक ध्रुवीकरणका बीच संगठनात्मक अनुशासन कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।

