Harsamaya
‘ट्राफिक प्रहरीको उद्देश्य जरिवाना उठाउनु होइन, दुर्घटना घटाउनु हो’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले ।

काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व संकलन वा जरिवाना असुली नभई सडक दुर्घटना न्यूनीकरण गरी नागरिकको जीवन सुरक्षित बनाउनु रहेको बताएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, बागमती प्रदेश समितिले सोमबार काठमाडौंमा आयोजना गरेको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै उहाँले सवारी चालकले ट्राफिक नियमको पूर्ण पालना गरे कारबाही गर्ने अवस्था नै नआउने स्पष्ट पारे । 

प्रमुख काफ्लेका अनुसार ट्राफिक प्रहरीको नियमित अनुगमन, सचेतनामूलक अभियान र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका कारण पछिल्ला महिनामा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको दर घट्दो क्रममा रहेको छ।

उनले चालक, सहचालक तथा सर्वसाधारण सबैले ट्राफिक नियमलाई जिम्मेवारीपूर्वक पालना गरे दुर्घटना अझ प्रभावकारी रूपमा न्यूनीकरण गर्न सकिने बताए । 

कार्यक्रममा यातायात व्यवसायी र चालकलाई ट्राफिक सचेतना, सुरक्षित सवारी सञ्चालन तथा ट्राफिक नियम पालना गर्नुको महत्वबारे प्रशिक्षणसमेत दिइएको थियो।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update