सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक बरामद
प्युठान - प्युठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा हतियार फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप रहेका छन्।
अवैध रूपमा लुकाइराखिएको अवस्थामा बरामद भएका ती हतियार कसले र किन त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्ति तथा हतियारको स्रोत पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

