Harsamaya
देशमा मेलमिलापको आवश्यक्ता छ

‘मेलमिलाप’ मानव सभ्यताको सबैभन्दा पुरानो, सुन्दर र शक्तिशाली दर्शन हो, सभ्य समाजको परिचायक हो । मेलमिलाप भन्नाले मतभेद, रिसराग वा आपसी द्वन्द्वलाई बिर्सेर एक ठाउँमा आउनु, आपसमा जोडिनु र मिलेर बस्नु हो तर यसको मर्म यतिमा मात्र सीमित छैन । यो केवल दुई पक्षबीचको भौतिक सम्झौता मात्र होइन, यो त दुईवटा भिन्न सोच, अलग धर्म, फरक दृष्टिकोण र भिन्न मनहरू बीचको भावनात्मक मिलन हो ।

हामी २१औँ शताब्दीको अत्यााधुनिक प्रविधिमैत्री र भौतिक रूपले समृद्ध युगमा बाँचिरहेका छौँ जस्तो देखिन्छ तर आजको मानव समाज जति बाहिरबाट हेर्दा खुसी, सुखी र जोडिएको जस्तो देखिन्छ, भित्रबाट त्यति नै चर्कँदै र टुक्रिँदै गएको छ । अझै मानवता र करुणा समेत हराउँदै गएको अवस्था छ । प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँ (Global Village) त बनाइदियो, तर एउटै घर परिवार भित्र बस्ने मानव मनहरुलाई भने निकै टाढा पुर्याइदियो ।

समाजमा जात जाती धर्म, नश्लका सम्बन्धमा अनावश्यक विवादहरु उछालिएका छन । जात जाती र धर्मका नाममा समाजिक सञ्जालमा सुनिनसक्नुका गालीगलौज र घृणा फैलाएको छ, एकले अर्कालाई नीच देखाउँदै मानमर्दन गरेकोे देखिन्छ । जसलाई कडाइका साथ रोक्नु जरुरी भइसकेको छ । आज संसारकै सुन्दर शान्त हाम्रो देशमा धर्मका नाममा सुनसरीको कप्ताननञ्ज, देवानगञ्ज, सिराहा, सप्तरीलगायतका जिल्लाहरुमा हिन्दू र मुसलमान समुदायका बीचमा द्वन्द्व चलेको र यसक्रममा कैयौं व्यक्तिहरु घाइते र चारजना व्यक्तिहरुको दुःखद निधनसम्म भइसकेको छ । यस्ता क्रियाकलापले धार्मिक, सामाजिक, साँस्कृतिक सहिष्णुता र सहअस्तित्वलाई आत्मसात गरेर यहाँसम्म आइपुगेको हाम्रो शान्त समाज विखण्डित हुने हो कि भन्ने चिन्ता र आशंका बढाएको छ । समाजमा अशान्ति र अविश्वासको खाडल गहिरिँदै गएको छ । यस्तो अशान्त र भयभीत समयमा मेलमिलापको महत्व झन् बढेर गएको छ । यो आजको युगको सबैभन्दा ठूलो आवश्यकता साथै मानवीय व्यवहार र मानव जीवनको अमृत तत्वको रुपमा रहेको छ ।

हाम्रो धर्म दर्शन, इतिहास, पूर्वीय संस्कृति र नेपाली समाजतर्फ दृष्टिगत गर्ने हो भने हाम्रो समाज एकता र मेलमिलापको जगमा उभिएको स्पष्ट देखिन्छ । हाम्रा धर्मग्रन्थहरु वेद, उपनिषद् र पुराणहरुले सधैँ समाजलाई एकजुट भएर अगाडि बढ्ने प्रेरणा दिएका छन् । सनातन धर्मको मूल मन्त्र नै ‘वसुधैव कुटुम्बकम’ (अर्थात् सारा संसार नै मेरो परिवार हो) भन्ने रहेको छ । जब हामी सिंगो संसारलाई नै आफ्नो परिवार मान्छौँ, तब त्यहाँ झगडा वा द्वन्द्वको कुनै स्थान रहँदैन । सबै धर्मको मूल मर्म एउटै हो, शान्ति, समृद्धि, विकास र भाइचारा हो । के हिन्दू के मुस्लिम, के इशाई सबैको एउटै गन्तव्य शान्ति र परमानन्द नै हो । तै पनि किन लडाई र झगडा ? आखिर सबै धर्मले सत्य, न्याय र अहिँसातर्फ अग्रसर गराउँछ भने एकापसमा काटमार किन ? द्वन्द्व, लडाईँ र झगडाले क्षणिक रूपमा कसैको अहङ्कारको तुष्टि त होला, तर यसले दीर्घकालीन रूपमा मानसिक अशान्ति, तनाव, हीनताबोध र विनाश मात्र निम्त्याउँछ । अर्कातर्फ, जब मानिसले आफ्नो अहङ्कारलाई त्यागेर मेलमिलापको बाटो रोज्छ, उसको मस्तिष्क शान्त हुन्छ, शरीरमा सकारात्मक ऊर्जाहरू प्रवाह हुन्छन् र उसले वास्तविक सुखानुभूति गर्छ ।

मेलमिलाप गर्ने सबैभन्दा सजिलो र प्रभावकारी उपाय भनेको ‘संवाद र क्षमा’ हो । यदि कसैसँग मनमुटाव भएको छ भने, मनमा कुण्ठा राख्नुको साटो शान्त भएर आपसमा कुराकानी गरी आफ्नो गल्ती छ भने निसङ्कोच माफी माग्नुपर्छ र अरूको गल्ती छ भने उदार मनले क्षमा गरिदिनुपर्छ ।

क्षमा माग्नु वा क्षमा दिनु कमजोरी होइन, यो त आत्मिक रूपमा बलियो र महान् मानिसले मात्र गर्न सक्ने कार्य हो । देवता बन्नु परेन, केवल एक अर्कासँग मानवीय व्यवहार गर्ने हो भने समस्या सिर्जना नहुने निश्चित छ ।

समाज र राष्ट्रको स्तरमा हुने मेलमिलापले सिङ्गो देशको भाग्य र भविष्य बदल्छ । हाम्रो जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशका लागि आपसी मेलमिलाप र सहिष्णुता नै सबैभन्दा ठूलो पहिचान र सम्पत्ति हो । हाम्रा पुर्खाहरूले विभिन्न जातजाति, धर्म र समुदायका बीचमा अद्वितीय मेलमिलाप कायम राखेर, धेरै दुःख कष्ट सहेर नै यो सुन्दर राष्ट्रको निर्माण गरेका हुन । साँच्चै भन्दा यो देश धर्तीकै सुन्दर फूलवारी हो, तर अहिले यस फूलबारीमा अनेक आन्तरिक र बाह्य दुश्मनको कुदृष्टि परेको र विभिन्न स्वार्थ समूहहरुको खेलमैदान बनेको दुःखद अवस्था छ । धर्म, जात जाती र नश्लका आधारमा पर्दा पछाडिबाट सञ्चालित त्यस्ता खतरर्नाक खेलका मदारीहरुलाई चिन्नु र तिनीहरुलाई कानूबमोजिम दण्डित गर्नु जरुरी भइसकेको छ ।

आजको समयमा धर्म, राजनीतिक, सामाजिक वा जातीय र नश्लका नाममा समाजलाई विभाजन गर्ने दुष्प्रयासहरू भइरहेका देखिन्छन । त्यसको दुष्प्रभाव हामीले भोगिरहेका छौं । हामी इतिहासकै संगीन घडीमा उभिएका छौं । अत्यन्तै संवेदनशील भूराजनैतिक अवस्थामा हामी छौं भन्ने कुरालाई हामीले सदैव हेक्का राख्नुपर्छ । हाम्रो सानो गल्तीले भयंकर दुर्घटना व्यहोर्नुपर्ने स्थितितर्फ पनि हामी सजग हुनैपर्छ । त्यसैले यस्तो विषम परिस्थितिमा सबै नागरिकहरु शान्त, धैर्यवान र संयमित बनेर सद्भावना कायम राख्दै मिलेर अगाडि बढ्नु अपरिहार्य छ । हामी प्रत्येक नागरिकले बुझ्नुपर्छ कि हाम्रो विविधता नै सौन्दर्य हो र हामी बीचको एकता र मेलमिलाप नै हाम्रो शक्ति हो । यो सुन्दर, शान्त र विशाल नेपाल तब मात्र रहिरहन्छ, जब मेचीदेखि महाकालीसम्मका सम्पूर्ण नेपालीहरूको मनमा एकअर्काप्रति अगाध प्रेम र मेलमिलापको भावना जीवन्त रहन्छ ।

समग्रमा भन्नुपर्दा, मेलमिलाप कुनै बाहिरी नियम वा कानुन होइन । यो त मानव मन मस्तिष्क र अन्तह्रृदयदेखि नै पालना गर्नुपर्ने अनुशासन हो । मानव जीवनको एउटा महामन्त्र हो । झगडाले सधैँ विनाश, अशान्ति र पतन मात्र गराउँछ भने मेलमिलापले निर्माण, प्रगति र शाश्वत आनन्द दिनुका साथै उज्यालोतर्फ डोर्याउँछ । निश्चय नै विवाद र अन्तद्र्वन्द्व हाम्रै समाजका उपज हुन त्यसैले यसलाई बुद्धिमत्तापूर्ण ढंगबाट निराकरण गर्नुपर्ने हुन्छ ।

आजको सामाजिक परिवेशतर्फ दृष्टिगत गर्दै यो संगीन घडीमा हामी सबैले आफ्नो मनमा एउटा संकल्प गर्नुपर्छ–हामी आफ्ना साना–तिना स्वार्थ र अहङ्कारलाई त्याग्नेछौँ । विविध जात, जाती, धर्म समुदाय, छिमेकीहरुसँग भएका पुराना तीता–मीठा मनमुटावहरूलाई आजैका दिनदेखि बिर्सिएर मेलमिलापको नयाँ यात्रा सुरु गर्ने छौं । अरुलाई उपदेश दिएर होइन, आफू बदलिएर , आफैं उदाहरण बनेर उभिनुपर्छ । जब हामी आफैँमा सकारात्मक परिवर्तन हुन्छौँ, आफ्ना दृष्टिकोण बदल्छौं दृष्य त स्वतः बदलिन्छ । जस्तो दृष्टि त्यस्तै सृष्टि, तत्पश्चात हाम्रो समाज स्वतः सुन्दर बन्नेछ । अन्त्यमा सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत ।।

लेखक : अधिवक्ता चिरञ्जीवी नेपाल

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update