Harsamaya
ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जाको मृत्यु भएको पुष्टि
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ ।

काठमाडौं - विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको इलाइट एक्सपेक्डले औपचारिक रूपमा पुष्टि गरेको छ। कम्पनीले शनिबार शोक वक्तव्य जारी गर्दै पुर्जासहित अभियानमा रहेका अन्य सदस्यहरू पनि जीवित नरहेको जानकारी दिएको हो।

इलाइट एक्सपेडले जारी गरेको वक्तव्यमा ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जाको दुःखद निधन भएको पुष्टि गर्दै उनका भरपर्दा आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पा सहित अन्य सदस्यको पनि मृत्यु भएको जनाएको छ।

कम्पनीले निर्मल पुर्जालाई पर्वतारोहण क्षेत्रका महान् आरोही, लाखौं मानिसका प्रेरणास्रोत र साहस, विनम्रता तथा अटल आत्मविश्वासका प्रतीकका रूपमा स्मरण गरेको छ।

वक्तव्यमा भनिएको छ, "निर्मलले आफ्ना असाधारण उपलब्धिभन्दा पनि मानिसले ठूलो सपना देखे र आफ्नो क्षमतामाथि विश्वास गरे असम्भव पनि सम्भव हुन्छ भन्ने सन्देश संसारलाई दिन चाहन्थे।"

इलाइट एक्सपेडले पुर्जाको नेतृत्व र दूरदृष्टिले इलाइट एक्सपेड, निम्सदाइ फाउण्डेसन, स्काइडाइभ निम्सदाई र निम्सदाई स्टोरलाई आजको स्थानमा पुर्‍याएको उल्लेख गर्दै उनको योगदान सधैं जीवित रहने जनाएको छ।

कम्पनीले खोज तथा उद्धारमा खटिएका सबै उद्धारकर्मी र सहयोगीप्रति आभार व्यक्त गर्दै मृतकका परिवारप्रति सम्मानस्वरूप सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएका जानकारीबाहेक थप टिप्पणी नगर्ने पनि जनाएको छ।

वक्तव्यको अन्त्यमा कम्पनीले भनेको छ, ‘निम्स र यस दुर्घटनामा ज्यान गुमाउने सबै आरोही कहिल्यै बिर्सिने छैनन्। उहाँहरूको साहस, उद्देश्य र विरासतले आगामी पुस्तालाई पनि प्रेरित गरिरहनेछ।’

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update