Harsamaya

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।

शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए । 

हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठन, संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्यदिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले भेलाको आयोजना गरिएको उनले बताए । 

भेलामा पार्टी भित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरुमा गहन छलफल हुने नेता कोइरालाले बताए । 

उनले पार्टी भित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका नेताहरुबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख गरे । 

साथै उनले लोकतान्त्रिक संविधान माथि प्रहार भइरहेको र धार्मिक तथा साम्प्रदायिक द्वन्द्वका घटनाहरु दिन प्रतिदिन बढिरहेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताए । उनले सुनसरीलगाएतका स्थानमा भएको घटनाका घाइतेहरुको उचित स्वास्थ्योपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरे । 

संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टी भित्रको बलियो एकता सहित राष्ट्रिय राजनीतिक शक्तिहरु बीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको जनाएको छ ।  

कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरिसकेको छ । भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरु, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरु लगाएत सवैलाई सहभागी हुन समेत इतर समूहले आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update