काठमाडौं - प्रेस काउन्सिल नेपालले सुनसरीको देवानगञ्जमा भएको घटनापछि सञ्चारमाध्यम र पत्रकारलाई सामाजिक सद्भाव कायम रहने गरी जिम्मेवार र संवेदनशील पत्रकारिता गर्न आग्रह गरेको छ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले कुनै पनि समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्यपरक, सन्तुलित र जिम्मेवार बन्न आग्रह गरेको हो। काउन्सिलले अपुष्ट सूचना, अफवाह, उत्तेजना फैलाउने सामग्री तथा कुनै समुदाय, धर्म वा जातिप्रति घृणा र विभाजन बढाउने अभिव्यक्ति सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई सचेत गराएको छ।
काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित) को पूर्ण पालना गर्न आग्रह गर्दै पीडित र प्रभावित व्यक्तिको सम्मान, गोपनीयता तथा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेको छ।
त्यस्तै, सामाजिक सञ्जालमा प्रसारित अपुष्ट सामग्रीलाई आधार बनाएर समाचार प्रकाशन नगर्न र आधिकारिक स्रोतबाट तथ्य पुष्टि गरेर मात्रै सूचना सम्प्रेषण गर्न पनि आग्रह गरिएको छ।
प्रेस काउन्सिलले वर्तमान संवेदनशील परिस्थितिमा सञ्चारमाध्यमले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

