Harsamaya
मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
पूर्वाधारमन्त्री सुनिल लम्साल, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ ।

सिरहा - सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको गाउँमा शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रदर्शन गरिएको छ। 

औरही गाउँपालिका-२ तुलसियाहीका स्थानीय, मृतकका आफन्त तथा छिमेकीहरूले बनिनिया चोकमा भेला भएर प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेको हो।  उनीहरूले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। 

स्थानीयका अनुसार सुनसरी घटनाको विरोधमा बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनापछि स्थानीयमा आक्रोश चुलिएको छ। 

शुक्रबार गृहमन्त्री सुधन गुरुङ मृतक परिवारलाई भेट्न गाउँ पुग्ने तयारी रहेको जानकारी पाएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र न्याय सुनिश्चित नभएसम्म गृहमन्त्रीलाई गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन्। 

घटनापछि गाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था तनावपूर्ण भए पनि स्थित नियन्त्रणमा रहेको स्थानीय प्रशासनले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update