Harsamaya
‘म संघीयताविरोधी होइन, मेरो सरकारबाट संघीयता खारेज हुँदैन’ : प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाहसँग मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँऊ छलफल गरेका छन् ।

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताका बारेमा आफू प्रस्ट रहेको बताएका छन् ।

आफू संघीयता विरोधी भएको भन्ने कुरा कल्पनासमेत नगर्नका लागि आग्रह गरेका प्रधानमन्त्री शाहले संघीयतामाथि सरकारबाट कुनै खतरा नभएको पनि बताएका छन् । 

‘प्रधानमन्त्रीले आज आफू संघीयता विरोधी नभएको प्रस्ट पार्दै आफ्नो सरकारका कारण संघीयता खारेज नहुने पनि बताउनु भयो,’ प्रधानमन्त्री शाहसँग भेटघाट गर्न पुगेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

उनका अनुसार सुनसरी, देवानगञ्जलगायतका स्थानमा भएका अप्रिय घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्दता पनि प्रधानमन्त्री शाहले गरेको अध्यक्ष महतोले जानकारी दिए। 

शुक्रवार प्रधानमन्त्री बालेन्द्र शाह र तराइ मधेस केन्द्रित दलका शिर्ष नेता बीच छलफल भएको थियो । सुनसरीको देवानगञ्ज र सिरहालगायत देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न मधेस केन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल गरेका हुन ।

बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, एमालेका लालबाबु राउत, रामकुमार शर्मा र समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह तथा जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी र जयकान्त राउत सहभागी रहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update