काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालै तराई–मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै यही विविधताबीचको एकता नै देशको सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
उनले आवेग र उत्तेजनाले समाजलाई कुनै फाइदा नपुग्ने भन्दै वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद नै समस्याको समाधानको आधार भएको उल्लेख गरेका छन्। राजनीतिक नेतृत्व, धार्मिक गुरु तथा नागरिक समाजले शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।
डा. कोइरालाले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत घृणा फैलाउने गतिविधिलाई निरुत्साहित गर्न तथा समाजलाई जोड्ने सकारात्मक सन्देश मात्र प्रवाह गर्न पनि सबैसँग आग्रह गरेका छन्।
घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइते सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा राज्यले कुनै कमी हुन नदिन पनि आग्रह गरेका छन्।
अन्त्यमा उनले विविधतामा एकता नेपालको पहिचान र गौरव भएकाले सबै मिलेर सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन आह्वान गरेका छन्।

